जलेश्वर, २७ असार । विपद् जोखिम न्यूनीकरणका लागि महोत्तरी जिल्लाको तत्कालीन ३ वटा गाउँ विकास समितिमा (हाल वडा) महिला, पुरुषहरुलाई मिलाएर १ सय ८ सदस्यीय विभिन्न विषयका टास्क फोर्स बनाइएको छ ।

जिल्लाको पिगौना गाउँ विकास समिति (हाल जलेश्वर नगरपालिका), सिमरदही गाउँ विकास समिति र धिरापुर गाउँ विकास समिति (हाल मटिहानी गाउँपालिका) मा विपद् कार्यदल बनाइएको छ । प्राथमिक उपचार, पूृर्व सुचना प्रणाली र हल्का खोज तथा उद्धार गरी तिन विषयमा बनाएर गठन गरिएर काम शुरु गरिएको हो ।

महोत्तरी जिल्ला बाढी, शितलहर, आगलागीको विपद्मा वर्षेनी पर्दै आएका छन् । तिनवटै गाविस जिल्लाको बाढी प्रकोपको उच्च जोखिममा रहेको गाविस अन्तर्गत पर्दछ ।

नेपाल सरकार र बेलायत सरकारको सहयोगमा सञ्चालित सामुदायिक विकास कार्यक्रम सिडिपी अन्तर्गत स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरण योजना अन्तर्गत टास्कफोर्स निर्माण गरिएको सिडिपीका जिल्ला संयोजक विशाल तिमल्सेनाले जानकारी दिए ।

टास्कफोर्स अन्तर्गत ३६ जनालाई प्राथमिक उपचार, ३६ जनालाई पूर्व सुचना प्रणाली र ३६ जनालाई समेटेर हल्का खोज तथा उद्धारको टिम निर्माण गरिएको जानकारी दिँदै संयोजक तिमल्सेनाले टास्क फोर्सका टिमलाई यससम्बन्धी व्यावहारिक, प्राविधिक तथा प्रयोगात्मक तालिम समेत दिइसकिएको जानकारी दिए ।

असारको आगमनसंगै महोत्तरी जिल्ला बाढीको उच्च जोखिममा पर्ने र ति गाविसहरु पनि रातो, बिग्ही र कुटमेश्वरी नदिको कारणले बाढीले आक्रान्त हुँदै आएकोले सो गाविसका स्थानीयहरुलाई समेटेर टास्कफोर्स बनाइएको हो ।

स्थानीय शासन, गरिब तथा पिछिडिएका विशेषत महिलाहरुलाई लक्षित आय आर्जन सम्बन्धी कार्यक्रमहरु तथा साना भौतिक संरचना निर्माणमा सहयोग गर्ने मुख्य लक्ष्य लिएको यो कार्यक्रम अन्तर्गत विपद् जोखिम न्यूनीकरण समेत सञ्चालन भएको छ ।

टास्क फोर्सहरुलाई रेडक्रस महोत्तरीका सभापति दिपक मिश्र, रेडक्रसका प्रशिक्षक अवधेश झा, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयका प्रहरी उपरिक्षक प्रकाश श्रेष्ठ, सिडिपीका प्रमुख विशाल तिमल्सेनाले संयुक्त रुपमा सैद्धान्तिक र व्यवहारिक तालिम दिएका थिए । सो क्रममा बाढी आउँदा कसरी उद्धार, प्राथमिक उपचार गर्न सकिन्छ त्यसको लागि गाउँमै पुगेर तालिम सञ्चालन गरिएको थियो ।

रेडक्रस महोत्तरीका सभापति दिपक मिश्रले हरेक गाउँ टोलमा यस्ता किसिमका टास्क फोर्सहरु बनाईनु जरुरी रहेको बताए । उनले भने, ‘उद्धार टिमलाई विपद्को समयमा घटनास्थल पुग्न कठिनाई भई समय लाग्छ, त्यस्तो अवस्थामा तालिमप्राप्त टास्कफोर्सले धेरै नै मद्दत गर्छ र यसले थप धनमाल जोगाउन पनि मद्दत पुग्छ ।’

उनले टास्क फोर्सका सदस्यहरुलाई स्थानीयस्तरमै पाइने श्रोत, साधनको प्रयोग गरी कसरी उद्धार र प्राथमिक उपचार गर्न सकिन्छ भन्ने तालिममा सिकाएको बताउँदै यसले केही हदसम्म जोखिमको न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

महोत्तरीमा प्रकोपपूर्व तयारीको अवस्था ज्यादै नै फितलो रहेको कारणले विपद्ले ज्यादै पिरोलने गरेको बताउँदै सिडिपका प्रमुख तिमल्सेनाले विपद्को समयमा हामीहरुले बनाएको संरचनाले नोक्सानी गर्ने भएकाले पनि हामीले समयमै सचेत हुनु जरुरी छ ।

Source: http://www.madheshvani.com